प्रतिनिधिसभा संसदमा बुधबार नेपालीको रोग प्रतिरोधात्मक क्षमतालाई लिएर प्रधानमन्त्री र सांसदबीच सवाल-जवाफ भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीका रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले कसले भनेको भन्ने प्रश्न गरे।

सांसद थापाको प्रश्नमाथि केन्द्रित रहेर जवाफ दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले थपे, ‘मैले भर्खंरै भनेको सुन्नुभएन?’

सांसद थापाले प्रधानमन्त्रीलाई ‘हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो? भन्ने प्रश्न गरेका हुन्।

प्रधानमन्त्रीले सांसद थापाप्रति लक्षित गर्दै भने, ‘एक जना माननीयज्यूले प्रश्न गर्नुभएको छ- नेपालीको रोग प्रतिरोधात्मक क्षमता राम्रो भनेर कसले भनेको? भर्खंरै मैले भनेको सुन्नुभएन?’

प्रधानमन्त्रीको जवाफ सुनेर सत्तारूढ नेकपा सांसदले टेबुल ठोके। प्रतिपक्षका सांसद भने हाँसे।

प्रधानमन्त्री ओलीले कुनै डाक्टर, वैज्ञानिक वा सोधकर्ताबाट रोग प्रतिरोधात्मक क्षमताबारे कुरा आए भने स्वीकार गर्ने बताए।

‘नेपालीको प्रतिरोध क्षमता बढी छ। आधा नेपाली स्वच्छ हिमाली र पहाडी भेगमा बसेका छन् र त्यहाँ स्टामिना छ,’ उनले थपे, ‘तराईमा बस्नेले पनि, मरूभूमिबाट आएको तातो हावा हिमालबाट ठोक्किएर बरफ भई आएको स्वच्छ हावापानी पाउँछन्।’

उनले नेपालका झारमा पनि यार्सागुम्बा हुने देश भएको बताए।

‘ढुंगाबाट सिलाजित निस्किन्छ। जडीबुटी र औषधिको देश हो यो। पानी हिउँबाट, हिमालमाथि बसेर पग्लेर अनेक मिनिरल तत्वसँग खेल्दै रसाएर निस्केर आउँछ।’

उनले नेपालीको योगा, व्यायाम गर्ने बानीले पनि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गराउने बताए।

‘नेपालीको भान्सामा पाउरोटीमा बटर दलेर खाने होइन। दाल चामल हुन्छ। नुन, बेसार अनिवार्य हुन्छ। जीरा, धनियाँ, प्याज, लसुन, अदुवा औषधि हुन्छ,’ प्रधानमन्त्री ओलीले भने।

नेपालीले हरेक दिन औषधिजन्य खानेकुरा खाएकोले त्यसले रोगप्रतिरोधात्मक क्षमता वृद्धि गराउने भनाइ प्रधानमन्त्रीको छ।

प्रधानमन्त्रीले नयाँ शैली भनेर पिजातिरभन्दा ढिँडो, अचार र साग नै ठीक हुने बताए।

‘सन्तुलित र औषधिजन्य खाना नै निरोगीपनका आधार हुन्,’ प्रधानमन्त्रीले थपे।

तपाईको प्रतिक्रिया

RELATED POSTS